न्यूयोर्क । ११५ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा त्रिवेणी टाइम्सले एनवाईसी नेपाल न्युज डटकमकी सम्पादक मच्छेदेवी गुरुङसहित ९ जना महिलालाई सम्मान गरेको छ ।
न्यूयोर्कबाट सञ्चालित त्रिवेणी टाइम्सले महिला अधिकार र महिला सशक्तिकरणमा योगदान गरेको भन्दै नेपालसहित विभिन्न ८ राष्ट्रका प्रतिभाशाली महिलाहरुलाई सम्मान गरेको हो ।
विभिन्न क्षेत्रमार्फत महिलाको हक, अधिकार र सशक्तिकरणमा योगदान पुर्याएको भन्दै सम्पादक गुरुङसहित ९ जना महिलाहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा त्रिवेणी टाइम्स विशेष ट्रफी तथा न्यूयोर्क स्टेट डिष्ट्रिक्ट ३८ का एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारले महिलाको सशक्तिकरणमा पुर्याएको योगदानको कदरस्वरुप प्रोक्लेमेसन तथा ट्रफी प्रदान गर्नुभएको थियो ।
त्रिवेणी टाइम्सका संस्थापकहरु नवराज केसी तथा खाम भट्टले सम्मानित हुने महिलाहरुलाई ट्रफी प्रदान गर्नुभएको थियो भने एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारका कार्यालयका प्रतिनिधिले विशेष सम्मान पत्र प्रोक्लेमेसन प्रदान गर्नुभएको थियो ।
संस्थापक नवराज केसीले महिला अधिकार, महिला शशक्तिकरणमा विभिन्न क्षेत्रमार्फत प्रतिभाशाली महिलाहरुले नेपाली डायस्पोरा तथा अन्य समुदायमा पुरयाएको योगदानको कदर गर्दै विभिन्न क्षेत्रका ९ जना प्रतिधाशाली महिलाहरुलाई सम्मान गरेको बताउनुभयो । सम्मानित हुनेहरुमा सम्पादक गुरुङ, न्यूयोर्क मेयर अफिसका साउथ एशिएन कम्युनिटी लियजन सुकरानी धनपत, डा. जुडिथ नारायण, डा. मरियम सिंह, डा. हेलेन अर्टेगा, श्रेया गिरी, चेरी एन चिश्ती, ग्लेडिस रामिरेज र तैबा अहमद रहनुभएको छ । सम्पादक गुरुङ लामो समयदेखि पत्रकारितामार्फत महिला बालबालिका, पछाडि पारिएका समुदाय आदिवासी जनजाति तथा सिमान्तकृत समुदायको लागि आवाज उठाउँदै आउनुभएको छ ।
नेपाली राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरबाट इन्टर्नसिपबाट सुरु गरेको उहाँको पत्रकारिता एन्टेना फाउनडेसन नेपाल, रेडियो सगरमाथा, समकोण टेलिभिजन कार्यक्रम, एभरेष् टटाइम्स न्युज हुँदै अहिले एनवाइसीनेपालन्युजडटकमसम्म निरन्तर जारी छ ।
कार्यक्रममा नेपाल अमेरिकन कलाकार संघका अध्यक्ष बसन्ती राई, महादेव त्रिपाठी, शिव विश्वकर्मा, दिनेश सुनारलगायत विभिन्न देशका कलाकारहरूले नेपाली कला र संस्कृति झल्कने नृत्य तथा जादु प्रस्तुत गरेका थिए ।
साथै बंगलादेशलगायत विभिन्न देशका स्थानीय कलाकारहरुले विभिन्न देशका भेषभूषा, भाषा, कला र संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिहरू गरेका थिए ।
त्रिवेणी टाइम्सले समाज र राष्ट्रका लागि विशेष योगदान पुर्याउने समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्दै आइरहेको छ ।
कार्यक्रममा सामाजिक अभियन्ता बेगम पण्डित र युवा सामाजिक अभियन्ता लकेश श्रेष्ठलाई न्यूयोर्क सिटीको क्विन्स बोरो अध्यक्षले नेपाली समुदायमा पुर्याएको योगदानको चर्चा गर्दै सम्मान गरेको छ ।
श्रेष्ठलाई न्यूयोर्क स्टेट डिष्ट्रिक्ट ३८ का एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारको कार्यालयका प्रतिनिधि तथा त्रिवेणी टाइम्सका संस्थापक केसीले सम्मान प्रदान गर्नुभएको थियो । उहाँ नेपाली भेषभूषा, भाषा, कला, र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्दै विश्व सामु नेपाल चिनाउने अभियानमा लागि पर्नुभएको छ ।