बेलायतमा आगामी मे २५ मा गोर्खाकप, मुख्य टिमका विजेताले ३ हजार पाउन्ड पुरस्कार पाउने

लन्डन । तमुधीं यूकेको वार्षिक कार्यक्रमअन्तर्गतको गोर्खाकप आगामी २५ मे २०२५ मा हुँदै छ । प्रतियोगिताको तयारी भइरहेको तमुधीं यूकेले जनाएको छ ।

मिचेटस्थित तमुधीं भवनमा १६ मार्च २०२५ मा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा बसेको बैठकमा खेलकुद सचिव तथा कार्यक्रम संयोजक क्या दिपक घलेले स्लाइड शोमार्फत गोर्खा कपको अहिलेसम्मका तयारी र आउँदो दिनमा गर्नुपर्ने कार्यबारे जानकारी गराउनुभयो ।

बैठकमा ओआईसी हिरा गुरुङ, एसिस्टेन ओवाईसी कुमार घलेलाई जिम्मेवारी तोकिएको थियो । हिराले गोर्खाकपमा पहिलो पटक जिम्मेवारी पाएकोले आफूलाई खुसी लागेको बताउँदै मार्गनिर्देशन गर्न आग्रह गर्नुभयो ।

सहारा यूकेका पूर्वअध्यक्ष कुमार गुरुङ र निवर्तमान अध्यक्ष लेरि कुसाङ गुरुङले गोर्खाकपलाई विगतदेखि नै सहयोग गर्दै आएकोले यस पटक पनि मद्दत गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो । गोर्खाकप २५ मेको बिहान ८ देखि राति ८ बजेसम्म तोकिएको छ । खेल क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्ड अल्डरसट ह्याम्पसायरमा हुनेछ । प्रतियोगितामा गोर्खा कप मुख्य टिम, भेट्रान टिम, महिला टिम खेलाइनेछ । मुख्य विधाका विजेताले ३ हजार पाउन्ड र फस्ट रनरअपले १ हजार ८ सय पाउन्ड पुरस्कार पाउने छन् ।

उक्त प्रतियोगिताका लागि ६ अप्रिलमा टिम दर्ता र स्टल बुकिङ खुलाइने छ । टिम दर्ताका लागि कुमार घले र ट्रेडिङ तथा स्टल दर्ताका लागि उपाध्यक्ष दिलमाया गुरुङलाई जिम्मेवारी दिइएको छ ।

यस्तै भेट्रानका विजेताले १ हजार ५ सय र फस्ट रनरअपले १ हजार पाउन्ड जित्ने छन् भने महिला तर्फका विजेताले ६ सय पाउन्ड र फस्ट रनरअपले ४ सय पाउन्ड पुरस्कार पाउने आयोजकले जनाएको छ । बैठकमा उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव डा.विशाल गुरुङले बैठक सञ्चालन गर्नुभएको थियो ।

बैठकमा अध्यक्ष जुमकाजी गुरुङले फेब्रुअरी १ देखि तमुधीं यूकेको टोलीले गरेको तीन हप्ते नेपाल भ्रमणबारे संक्षिप्त जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री