पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान


काठमाडौं । पहिचान पुरस्कार कोषले २०८०/८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गरेको छ ।

नेपालकै सबैभन्दा धेरै धनराशिको उक्त पुरस्कार भोजपुरको चखियामा मंगलबार’पहिचान पुरस्कार समर्पण समारोह’ आयोजना गरी प्रदान गरिएको हो । पुरस्कृत कवि स्याङ्तान छोराको उपचारका लागि भारतमा रहेकाले उहाँको प्रतिनिधित्व गर्दै कवि/प्राज्ञ चन्द रानाहोंछालाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य एवं मातृभाषा विभाग प्रमुख लेखक/कवि राजन मुकारुङ पुरस्कार हस्तान्तरण गर्नुभयो । पुरस्कारको राशि ४ लाख २ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।

साहित्यकार सुमित्रा बाङ्देल ‘चेली’ र कवि/साहित्यकार कविता राईले पुरस्कृत कविता र कविको व्यक्तित्वबारे टिप्पणी गर्नुभएको थियो । उत्कृष्ट आठ पुस्तकमध्येबाट उक्त कृतिलाई पुरस्कार दिने निर्णय कोष गरेको थियो । उक्त कवितासंग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानको लागि रगत पसिना साथै जीवन आहुती दिने तामाङ जाति र अन्य भूइँमान्छेहरुले खेपेको शोषणको बारेमा बताएको कोषका संस्थापक युद्धकवि नरेश काङमाङ राईले उल्लेख गर्नुभएको छ । स्याङ्तानका कविताले आफ्नो पहिचान रक्षार्थ आन्दोलन, विद्रोह बोलेका छन् । विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल भएको छ । सांस्कृतिक जागरणको आह्वान गर्दै आफ्नो पहिचान रक्षाका लागि आवाज बुलन्द गरिएका छन् ।

कार्यक्रमको समापनपश्चात् विभिन्न स्थानबाट भेला भएका कविहरुले कविता वाचन गर्नुभएको थियो ।

छनोटको अन्तिम ८ कृतिको सूचीमा स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ सहित गिलु रातोसको ‘सिलिदुङ’, विश्व कुइँकेलको ‘गोपिचा’, मिथोचको ‘आगोको पिदार’, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजङ्ग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ अन्तिम सूचीमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री