रविले सांसदबाट राजिनामा दिनुपर्छ

लेखक सुरेन्द्र श्रेष्ठ

गणतन्त्रको स्थापनापछि जनताको अवस्था भने सोचेजस्तो सुधार भएन। शुरुका केही वर्ष संक्रमणकाल नै भयो। जनताले माओवादीलाई दिएको मत अनुसारको नेतृत्व नौ महिना पनि टिकाउन सकिएन। संविधान बनाउन नै लामो समय लाग्यो । एक थान संविधान त आयो तर यसलाई पनि सर्वस्वीकार्य बनाउन सकिएन। फरक मत हुनेहरुले विरोध गर्नु त स्वाभाविक नै थियो। पार्टी फुटेको चोटले निर्वाचनमा सहनु परेको खति माथि  हुँदाखाँदाको पार्टी छाडेर नयाँ शक्तिको आशमा बाबुराम भट्टराईको पनि नामोनिशान नै भयो। पार्टीको अस्तित्व बचाउन कहिले एमालेलाई पार्टी नै बुझाउने कहिले कांग्रेसलाई चुनाव चिन्ह बुझाउनु पर्ने प्रचण्डको बाध्यता भयो। यति लामो समयसम्म पनि शान्ति प्रक्रियालाई निचोडमा पुर्याउन सकिएको छैन। हिजो सत्ताको भर्याङ्ग बनिदिंदा फाल्गुन १ गतेलाई बिदा दिन तयार एमालेले अब त्यो दश वर्षलाई भीषण आतंक भन्न थालेका छन्। इतिहासको यथार्थतालाई स्वीकार नगर्ने मात्र हैन पछाडि नै फर्कन पर्ने स्वरहरु पुन: उठ्न थाल्यो। एक पछि अर्को विवादित निर्णयहरुसंगै जनता सत्तासंग नै रुष्ट हुँदै जाने क्रम चालू छ। सरकारमा बस्नेहरु यसलाई दुई दिनको रमाइलो गरेका हुन् सब ठीक हुन्छ भनिरहेका छन्।

विकल्पको रुपमा व्यक्तिहरु मात्र हैन पार्टीहरु पनि देखा परिरहेका छन्। केही स्वतन्त्र उमेद्वारहरुको विजयबाट हौसिएर राजनीतिको जालो थापिहाल्ने सुरमा स्वतन्त्र पार्टी नै स्थापना भयो र अड्कल काटिए भन्दा ठूलो नतिजा हात लाग्यो। पुराना दलहरु माथिको रिस मतदानमा पोखिएको नै हो। पछि पालो आउला कि नआउला भनेर आशाको किरण मानिएका रवि लामिछाने आफू नै सरकारमा नेतृत्व गर्न पुगे। अदालतले दोषी ठहर गरी सांसद पद खोसिए पछि पुन: सांसद बन्नु ठीकै थियो होला तर फेरि मलाई त्यही मन्त्रालय चाहियो भनेर हत्ते लगाउन हुँदैन थियो । राजनीतिको जोड घटाउमा खासै अनुभव नभएको कारण यसलाई नै उनले लडाई जिते जस्तो गरे। अझ प्रधानमन्त्री पद समेत त्यागेको भन्न छाडेका छैनन्।

नेपालको राजनीतिमा स्थाई रुपमा प्रभाव राख्ने केही शक्तिमाथि बोलिएको धावा आखिरमा उनको पासो बनेर आयो। राजनीतिमा आउन अगाडि जोडिएका विषयलाई दिनरात उठाएर आखिर जेलको चिसोमा जान पर्ने अवस्था नै आयो। हिजो छाडिएको बेलामा जयगान गरिएको न्यायालयलाई अब थुनामा पठाए पछि सराप्ने कुरा पनि भएन। कानुनको बाटो जे जस्तो भए पनि पार गर्नु नै पर्छ तर यस बीचमा सरकारले उनीमाथि जे जस्तो रवाफ देखायो त्यो चाहिँ उचित थिएन भन्न अलमल गर्नु पर्ने विषय हैन। उनले आफूलाई थुनामा राख्न भएको उच्च अदालतको आदेश माथि पुन: अपिल गर्न सक्छन्। उनी फेरि कारागार मुक्त भएर बाहिरबाट नै मुद्दा लड्न सक्ने अवस्था आउन पनि सक्छ। तर मुद्दाको प्रकृति र उनी माथिको अभियोग हेर्दाखेरि यो मुद्दाको अन्तिम किनारा लाग्न केही वर्ष लाग्ने पक्कापक्की देखिन्छ। तर एकाथरी मानिसहरु उनको काराबास जीवनसंगै देशको सम्पूर्ण समस्या समाधान भयो जस्तो प्रचार गरिरहेका छन्।

उनको सांसद पद निलम्बित भएको केही समय भैसकेको थियो। सभामुखलाई भनेर मात्र त्यो पद फुकुवा हुने अवस्था थिएन। उनले चाहेको भए निलम्बित नै नगर्न सक्ने अवस्था थियो। धरौटीमा छुट्ने बित्तिकै आफ्नो सांसद पद निलम्बन गरेको कानुनसम्मत थिएन भनेर अदालत जान सकिने थियो। तर यो बाटो उनले किन अख्तियारी गरेनन् बुझ्न सकिरहेको छैन। सांसदहरुको लागि बनेको विशेष कानुन संसद नियमावलीअनुसार निलम्बन नहुने स्पस्ट व्यवस्था छ। तर अन्य आम कानुनअनुसार उनको सांसद पद निलम्बन गरिएको न्यायिक थियो कि थिएन भनेर अदालत प्रवेश गरेको भए यसबारे स्पस्ट ब्याख्या हुने र यसपछि अन्यको हकमा पनि सजिलो हुने थियो। अब त थुनामा नै गएपछि यो प्रश्न नै गौण भएको छ। यो विषयलाई उठान गर्न सकेको भए कथम्कदाचित सर्वोच्चबाट उच्च अदालतको आदेश उल्टिएको खण्डमा सांसद पद फुकुवा हुनसक्ने पनि थियो। थुनामुक्त भयो भने फेरि अदालत गइ बस्नु पर्ने थिएन। त्यस्तो अवस्थामा सांसद पद निलम्बन हुने वा नहुने भन्ने बारे अदालतले बोलिसकेको हुने थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेसम्म रविको कारण मात्र यो स्थानमा पुगेको हो भन्ने आमधारणा बनेको छ। उनले पत्रकारितामा प्राप्त गरेको हाईहाईको कारण जनताले साथ दिएका हुन् भन्ने आम बुझाई पनि छ। उपनिर्वाचनमा पहिलेभन्दा बढी मत प्राप्त गर्नु यसको प्रमाण नै मान्नु पर्दछ। छोटो समयमा स्वतन्त्र पार्टीले धेरै उतारचढावहरु व्यहोरेको छ। रविको मुख्य सहयोगी महासचिव डा मुकुल  ढकाल नै कार्यबाहीमा परेर पार्टी बाहिर छन्। शुरुमा साथ् दिने केही मुख्य व्यक्तिहरु अहिले उनको साथमा छैनन् । तर सामाजिक संजालमा भने अहिले पनि उनीमाथि राम्रो नै सहानुभूति देखिन्छ। पछिल्लो चितवनको कार्यक्रममा देखिएको उपस्थितिले भने ठूलो प्रश्न खडा गरेको छ। तर देशमा बैकल्पिक राजनीतिक शक्ति माथिको जनताको आशक्ति भने अहिले पनि कम भएको छैन। स्वतन्त्र पार्टीको राजनीतिक भविष्यबारे त अहिले अड्कल लगाउन सकिएन तर रविको वर्तमान अवस्था भने नाजुक बनेको छ।

मैले कुनै अपराध गरेको छैन, भगवान छन्, अदालतले न्याय दिने छ भनेर मात्र कुर्नु बुद्धिमता हुने छैन। नेपाललगायत विकासोन्मुख देशहरु मात्र हैन बेलायतजस्ता विकसित र समृद्ध देशहरुमा पनि बिनाकसुर जेल सजाय बिताउने र बिताइरहनेहरुको संख्या प्रशस्त छ । भोलि फैसला हुने बेलामा निर्दोष ठहर भए पनि त्यसपछि सांसद हुने समय घर्किसकेको वा थोरै समय मात्र बाँकी रहन सक्छ। त्यसैले उनले अहिले निलम्बित भएको पदबाट राजिनामा दिनु पर्छ। सरकारलाई सकेसम्म छिटो उपनिर्वाचनको घोषणा गर्न लगाउनु पर्दछ। प्रयोग नभएको मात्र हैन दुईपटक सांसद छानेका चितवनका जनताहरुलाई जनप्रतिनिधिविहीनताको अवस्थामा राख्नु हुँदैन। पार्टी र रविलाई न्याय गर्नको लागि त्यहाँका जनता अझ पनि तयार हुन सक्छन। त्यसैले पार्टीले यसबारेमा तुरुन्त निर्णय गरेर चुनाव प्रचारमा लागिहाल्नु पर्छ।

पार्टीलाई चलायमान राख्नको लागि पनि यो कदम सही हुन्छ। पार्टी नेतृत्वले एक अर्को  प्रभावकारी  नेतालाई सदनमा लान पाउने मौका पनि हो यो। अन्य पार्टीहरुको धरातल के हुँदैछ भनेर प्रमाणित गर्ने समय पनि हुने छ। यसले पुराना दलहरुलाई पनि व्यापक दबाब दिने छ। विचार व्यक्तिभन्दा बलवान हुन्छ। सही विचारलाई प्रयोग गर्न सही व्यक्तिहरु हुन पर्छ। अन्यथा केही समय शक्तिशालीजस्तो देखिएता पनि त्यस्ता व्यक्तिहरुको अभावमा सिंगो संस्था नै धराशायी हुन्छन्। त्यसैले कुनै पनि पार्टी वा संस्थाभित्र प्रमुख नेतृत्वको मात्र हैन उत्तराधिकारीहरुको पनि महत्वपूर्ण भूमिका हुने गर्दछ। सकेसम्म सामूहिक नेतृत्वमा चलेको विचार नै लामो समय टिक्न सम्भव हुन्छ।

अहिले एकथरी राजनीतिमा लागेका मानिसहरु ठूलो हर्षोल्लास गरिरहेका छन्। स्वतन्त्र पार्टी रविसंगै जेल चलान भएजस्तो ठानिरहेका छन्। अब यो पार्टीको कुनै अस्तित्व नै नरहने ठोकुवा गरिरहेका छन्। सरकारी पार्टीहरुले अजम्बरीको बुटी पाएजस्तो गरेका छन्। ८४ सालमा भए भरको सांसद आफ्नै पार्टीको हुने मीठो सपना देखिरहेका छन्। त्यस्ता प्रवृत्तिका व्यक्तिहरुले सरकारले भनेको नमानेको कारण कुलमानलाई हटाउनु ठीक छ। अदालतले पनि अन्तरिम आदेश दिएन भनेर युद्ध जितेजस्तो गरिरहेका छन्। भ्रस्टाचारको अभियोग लागेर हटाएको महानगरपालिकाका प्रमुखलाई सबैजना मिलेर कार्यालयमा ल्याएर बालेनलाई एक्लो बनाएकोमा विश्वयुद्ध नै जिते जस्तो गरिरहेका छन्। तर यस्ता कामहरुले उनीहरु माथिको घृणा बढिरहेको वास्तविकता बुझ्न सकिरहेका छैनन्।

व्यक्तिगत रुपमा म रास्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हैन। नजिकका धेरै साथीहरु त्यतातिर लागेका छन्। देशमा केही राम्रो भइदिओस् भन्ने सबैको कामना हो। यति छिट्टै त्यस्तो कामनामा तुषारापात नहोस् भन्ने चाहिँ मेरो चाहना हो। राजनीतिसंग बैराग्य लागेपछि देशमा बस्ने युवाहरु विदेश लाग्नेमात्र हैन विदेशमा केही समय बसेर देशमा नै गएर केही गर्छु भनेर सोचाइ राख्नेहरु पनि निरुत्साहित हुने गर्दछन्। कसैले राम्रो नगरेपछि बरु पुराना नै ठीक हो भन्ने बिग्रह पनि आउन सक्छ। यस्तो अवस्थामा नपुग्नको लागि पनि राजनीतिमा नयाँ नयाँ खालका नेतृत्वहरू देखिनु पर्दछ। राजतन्त्र उन्मूलन गर्न सफल जनताले आफ्नो पार्टी भित्रका राजाहरुलाई पनि ठीक पार्न सक्नु पर्दछ। अहिलेको अवस्थामा नेपालमा नयाँ विकल्पको उदय भएर पूर्ण राजकीय सत्ता हातमा लिन सक्ने सम्भावना देखिँदैन। आफू बिग्रेको स्वीकार नगर्ने पुराना पार्टीहरुलाई राम्रो सबक सिकाउनको लागि बिग्रेका तर सुधारिन तयार भएका पार्टीहरु र खास नयाँ शक्तिहरुबीच सहकार्य गर्न आवश्यक छ। अन्यथा समयले सबैलाई साइजमा ल्याउने नै छ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री